काठमाडौँ । अस्ट्रेलियाको मेलबर्नमा आयोजना गरिएको ‘मिसेस नेपाल अस्ट्रेलिया २०२५’को उपाधि लीला तिवारी पौडेलले जितेकी छन् । उनले उपाधिसँगै विधागत तर्फको ‘एलिगेन्ट वाक’को पनि उपाधि सुरक्षित गरिन् । लीलाले ताजसँगै १ हजार अस्ट्रेलियन डलर, लेट मी इन कोरियन हस्पिटल नेपालबाट ५० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा विभिन्न अन्य उपहारहरू प्राप्त गरिन् । पेसाले नर्स बुटवलकी लिला मेलबर्नको भिक्टोरियास्थित मिकलह्याममा बस्छिन् ।
प्रतियोगितामा शिवानी कट्टेल ‘फस्ट रनर अप’ र ‘मिसेस कन्फिडेन्स’ बन्दै ६०० रुपैयाँ अस्ट्रेलियन डलर, ३० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर पाइन् । त्यस्तै आश्मा(एस) चालिसे ‘सेकेन्ड रनर अप’ र ‘ग्रेसफूल डिभा’ बन्दै ४०० अस्ट्रेलियन डलर, २० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर जितिन् ।
हिमाली कल्चर ग्रुप मेलबर्न र इभेन्ट्स नेपाल अस्ट्रेलियाले आयोजना गरेको पहिलो संस्करणको प्रतियोगितामा अस्ट्रेलियामा बसोबास गर्ने १४ जना नेपाली विवाहित महिलाहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा आकृति सापकोटाले ‘बोल्ड एन्ड ब्युटी’, आरती सिंहले ‘इन्टलेक्चुअल’, जमुना अधिकारी रिजालले ‘कन्जेनियलिटी’, निवा प्रजापति साहुखलले ‘सोसियल इम्प्याक्ट’ र ‘एलिगेन्ट पर्सनालिटी’, सन्ध्या भट्टराईले ‘हर्ट अफ गोल्ड’, जस्मिन चौलागाईं ढकालले ‘मिसेस पोइज’, अनुजा मल्ल ढकालले ‘ट्यालेन्ट’, विद्या पनेरूले ‘डिसिप्लिन’, रश्मी अधिकारीले ‘फोटोजेनिक’, दीपा खनालले ‘बेस्ट एटिच्युड’ र सरस्वती श्रेष्ठले ‘फेसनिस्टा’को विधागत उपाधि जिते ।
सिजन मिडियाले व्यवस्थापन गरेको प्रतियोगितामा रोजिन शाक्यको कोरियोग्राफी थियो । प्रतियोगितामा कलाकार तथा मोडल प्रकृति श्रेष्ठ, ‘मिस नेपाल अर्थ २०११’ अनुपमा अरा गुरुङ, एथ्रीके सोलुसनका एमडी विनोद कुँवर, मिरेकल माइग्रेसन एन्ड एजुकेसनका निर्देशक सागर शाही, तथा ग्रेस इन्टरनेसनलका निर्देशक प्रकाश रेग्मी निर्णायक थिए ।