काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण कार्य अनिश्चितकालका लागि बन्द गरेको छ । २४ भदौमा जेन–जी पुस्ताको आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा गरिएको आगजनीले केन्द्रीय सर्भरमा क्षति पुग्दा देशभरका यातायात कार्यालयले दिने सबै सेवा अनिश्चितकालका लागि रोकिएको हो ।
विभागले जारी गरेको सूचनामा विभागको संरचनामा भएको तोडफोड, आगजनी र चोरी÷लुटपाटका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा क्षति पुगेको उल्लेख छ । विभागका अनुसार अर्को सूचना नभएसम्म चालक अनुमतिपत्र छपाइ र वितरण लगायतका सबै सूचना प्रविधि आधारित सेवा बन्द रहनेछ ।
विभागमा रहेका सबै वस्तु तथा सामग्री नष्ट भएका छन् । नयाँ लाइसेन्स, नवीकरण, अत्यावश्यक प्रिन्टिङको काम देशैभरि रोकिन पुगेको छ । इम्बोस्ड नम्बर प्लेट छपाइ र वितरण पनि रोकिएको छ । सवारीसाधन दर्ता, आयात अनुमतिदेखि ब्लुबुक नवीकरणलगायतका काम सबै रोकिएको छ ।
यातायातसम्बन्धी सबै विवरणसहितको केन्द्रीय सर्भर विभागको मीनभवन कार्यालयमै थियो । विभागले आफूसँग ८–१० दिन अघिसम्मका ब्याकअप सुरक्षित रहेको बताए पनि त्यो प्रयोगमा ल्याउन समय लाग्ने जनाएको छ । आगलागीका कारण विभागले प्रयोग गर्ने सबै सवारीसाधन नष्ट भएको छ । ८ लाख ओटा इम्बोस्ड नम्बर प्लेट जलेर काम नलाग्ने भएका छन् । विभागमा तयार भएका र छाप्न बाँकी स्मार्ट कार्ड पनि नष्ट भएको राईले जानकारी दिए । सरकारले सवारीसाधन दर्ता, नामसारी र नवीकरण गर्दा असोज १ बाट अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने व्यवस्था पनि अब कार्यान्वयन नहुने देखिएको छ ।