सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले सांस्कृतिक चेतना र मौलिक पहिचान जोगाउँदै सबै मिलेर समावेशी र समृद्ध नगर निर्माणमा लाग्न सबैलाई आग्रह गरेकी छन् । मेलम्ची नगरपालिका वडा नम्बर १ द्वारा आयोजित हरितालिका तिज २०८२ को अवसरमा आयोजित स्थानीय कला–संस्कृतिको संरक्षणका लागि वडा भित्रका विभिन्न समुदायहरुलाई विविध मौलिक सांस्कृतिक प्रस्तुति तथा लक्षित वर्गका लागि विभिन्न सांस्कृतिक सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उप–प्रमुख प्रधानले यस्तो बताएकी हुन् ।
कार्यक्रम उनले वडाले आयोजना गरेको तिज विशेष सांस्कृतिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिन र स्थानीय कला–संस्कृतिको संरक्षणमा प्रेरणा जगाउन सफल हुने विश्वास व्यक्त गरिन् ।

उनले हाम्रो समाजमा सांस्कृतिक सम्पदा मात्र गर्वको कुरा होइन, यो आर्थिक, सामाजिक र भावी पुस्ताको पहिचानसँग पनि जोडिएको बताइन् । उनले भनिन्, ‘हामीले आ–आफ्नो मौलिक कला, भेषभूषा, नाच–गानलाई संरक्षण नगरे हाम्रो इतिहास हराउनेछ । त्यसैले नगरपालिकाको तर्फबाट यस्ता कार्यक्रमलाई निरन्तर प्रोत्साहन र सहयोग गर्ने प्रतिबद्धता गर्दछु ।’
उनले आज देखिएका कलाकारहरूको प्रस्तुति, दिदीबहिनीहरूको उत्साह र लक्षित वर्गका लागि सामग्री हस्तान्तरणले समावेशी विकास र सामाजिक न्यायको सन्देश फैलाउने बताउँदै यसले महिला सशक्तीकरण र सांस्कृतिक चेतनालाई अझ मजबुत बनाउने धारणा राखिन ।
उनले भनिन्, ‘हामी सबै मिलेर संस्कृति र विकासलाई हातेमालो गर्दै अघि बढ्नुपर्छ। हाम्रो संस्कृति हाम्रो सम्पत्ति होस यसलाई जोगाउनु हाम्रो जिम्मेवारी हो ।